नेपाली राजनीति, प्रचण्ड, ओली, Chairman PRachanda, KP Sharma Oli
 

काठमाडाैं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको  नाम टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयाे ।

७७ जिल्ला कमिटीमध्ये ४५ तात्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने नेकपाको तयारी छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरुको निरन्तर छलफलपछि जिल्ला तहको एकता टुंगो लागेको हो ।

यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने टुंगो लाग्न बाँकी छ ।