काठमाडौं, पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको नेकपा कार्यालय धुम्वाराही पुगेका छन् ।

अर्थमन्त्री रहँदा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको छ। मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनभएका अधिकारीलाई श्रद्धाञ्जली दिने बारे आजै मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताइएको छ । त्यसका लागि अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारलाई सुझाव दिन नेकपा सचिवालयको बैठक पनि बसेको थियो ।