cmprachanda in ram sita jayenti
 

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिनुभएकाे छ । सीताकाे जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिनुभएकाे हाे ।

‘पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि पश्चिमको बडिमालिकासम्म धार्मिक सर्किट बनाउनु जरुरी छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयाे – ‘भारत र नेपालका पनि मुख्य शक्तिपीठहरुको सर्किट बनाउन सकेमा यो क्षेत्रमा क्रान्ति नै आउँछ ।’

अध्यक्ष प्रचण्डले सीता र जनकको सम्बन्ध नेपाल र भारतसँग मात्रै नभएर दक्षिण पूर्वी एशियाका देशहरुमा समेत रहेको बताउँदै सीता जयन्तीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मनाउनुपर्ने बताउनुभयाे। थाइल्याण्डको राजपरिवारले आफूलाई जनककै वंशज भएको बताउने स्मरण गर्दै प्रचण्डले यसमार्फत दुई देशको पर्यटनलाई अन्तर्सम्बन्धित गर्न सकिने धारणा राख्नुभयाे ।

cmprachanda-sita-jayanti

आफू दोश्रोपटक प्रधानमन्त्री भएको बेला चीन र भारतका राष्ट्रपतिसँग गोवामा भेट हुँदा तीनैदेशलाई धार्मिक पर्यटनमार्फत जोडने प्रस्ताव राखेको बताउँदै अध्यक्ष प्रचण्डले इतिहास र संस्कृतिको बिरासतले यो सम्भव भएको जिकीर गर्नुभयाे । दुबै देशका प्रमुखहरुले ज्ञान, संस्कृति र कलाको इतिहासलाई जोडनुपर्ने विषयमा निकै सकारात्मक भनाई राखेको बताउँदै अध्यक्षले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण, रामायण सर्किटको घोषणा तथा अयोध्या बस सेवा त्यसकै निरन्तरता भएको समेत बताउनुभयाे ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले धार्मिकरुपमा सबै धर्म बराबर भएको टिप्पणी गर्नुभयाे । अध्यात्मिक चिन्तनभित्र कतिपय वैज्ञानिक पक्ष रहेको बताउँदै उहाँले वैज्ञानिक तथ्यहरुलाई धर्म या पन्थको जलप लगाउने काम विगतमा भएपनि अब त्यसो गरिराख्नु नपर्नेमा जोड दिनुभयाे ।

अध्यक्ष प्रचण्डले सीताबिना राम र रामबिना सीताको कल्पना गर्न नसकिने भएपनि सीतालाई राम जत्तिकै महत्व नदिएको टिप्पणी गर्नुभयाे । सीताको भूमिका कम्ति नभएको उहाँको भनाई थियो । पितृसत्तात्मक चिन्तनले गर्दा रामनवमी भव्यताका साथ मनाईने तर सीता जयन्तीलाई त्यसरी नै मनाउने काम नभएको उहाँको भनाई थियो । सीतालाई धार्मिक अर्थमा मात्रै नलिएर यसको ऐतिहासिक र ज्ञानको बिरासतको महत्व बुझेर अघि बढनुपर्ने अध्यक्ष प्रचण्डकाे भनाइ थियाे ।