काठमाडौं, विश्वभरीकै ज्येष्ठ नागरिक नेपालमा फेला परेकी छन् । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिकको रुपमा फेला परेकी हुन् ।
आइतबारदेखि १ सय १६ वर्ष पुरा गरी १ सय १७ औं बर्षमा प्रवेश गरेकी लामिछाानेलाई जन्म दिनको शुभकामना र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उनको घरमा ताँती लागेका छन्।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उनको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको छ। कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो।
त्यस अवसरमा अध्यक्ष कर्माचार्यले बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको बताउनुभयो । बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले गिनिज बुकमा नाम लेखाउनका लागि नेपाल सरकारका तर्फबाट पहल गरिने जानकारी पनि उहाँले गराउनुभयो।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सदस्य सचिव अर्जुन केरुंगका अनुसार गिनिज बुकमा अहिले विश्वकै ज्येष्ठ नागरिकको रुपमा जापानकी १ सय १६ बर्षकी महिलाको नाम लेखिएको छ ।