Republic Day and Everest Day in Denmark
 

काठमाडौँ । विश्वको कान्छो गणतन्त्र नेपालको गणतन्त्र दिवस डेनमार्कको कोपनहेगनमा पनि भव्यताका साथ मनाइएको छ ।

कोपनहेगनस्थित डेनमार्कका लागि नेपाली राजदूतावासले जानकारी दिए अनुसार गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।

राजदूतावासका अनुसार ऊक्त कार्यत्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको थियो ।

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले उपस्थित अतिथिहरू तथा अन्य महानुभावहरूलाई स्वागत गर्दै दुवै दिवसहरुको महत्त्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवसर सम्बन्धमा प्रकाश पार्नुभयो । साथै, उहाँले, “गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यक्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा वाकिङ्गस्ट्रिटमा नै गरिने” बताउनु भयो ।

कार्यक्रममा डेनमार्कमा रहेका नेपालीहरूको बाक्लो उपस्थिति थियो । प्रायः नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिएर उपस्थित भएका थिए ।

गणतन्त्त दिवसलाई भव्य बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रदर्शन गरिएको थियो, जसको समन्वय ईनास, डेनमार्कले गरेको थियो भने प्रचार प्रसारको समन्वय श्री प्रभात किरणले गर्नुभएको थियो । कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु सहितका कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रमस्थल विभिन्न पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त पर्यटन सामग्रीहरु वितरण गरिएको थियो । यो कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड र डेनमार्कस्थित गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्चरजनप्रगतिशील मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास), विवेकशील साझा सद्भाव समूह, क्रियटिभ नेपाली वुमेन ग्रुप, नेपाल म्युजिक फेस्टिभल, वैज्ञानिक तथा प्राज्ञिक समूह आदिले प्रत्यक्ष वा अप्रक्षय रुपमा सहयोग थिए । मञ्च सजावटका लागि सुशिला हमालले र तस्विर र भिडियो खिच्नका लागि Guru Production ले सहयोग गरेको राजदूतावासले जनाएको छ ।