काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभएको छ । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सरकारको सफलता भएको उहाँले बताउनुभयो।
राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा गरेको खाद्य सम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्दै सरकारसँग सहमति गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालमा अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही पनि छैन ।’
सरकार र राउत समूहबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउनु सफलता र सकारात्मक होइन भने के हो ?’प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘शंका, षड्यन्त्र र धोकामाथि मेरो विश्वास छैन ।’