Rt Hon. Krishna Bahadur Mahara, speaker of the Federal Parliament
 

काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

चिनियाँ भाषा शिक्षक संघले आइतबार (आज) काठमाडौंमा आयोजना गरेको ‘दोश्रो बेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्नुहुँदै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

‘नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु सह्रानीय कार्य हो, सभामुख महराले भन्नुभयो, ‘यस्ता मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पुर्‍याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’

दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भए पनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाई हुने गरेको सभामुख महराले बताउनुभयो ।

‘दुई देशबीचको घनिष्ठ सम्बन्ध र नजिकको सहकार्य हुँदाहुँदै भाषाको समस्याका कारण जनस्तरसम्म आपसमा शिक्षा, संस्कृति र अन्य क्षेत्रको अनुभव आदान प्रदानमा केही कठिनाइ हुने गरेको देखिन्छ’, सभामुख महराले भन्नुभयो, ‘पछिल्लो समयमा नेपाली नागरिकहरुमा देखिएको चिनियाँ भाषा सिक्ने उत्सुकता र चिनियाँ नागरिकहरुले नेपाली भाषा सिक्न गरेको प्रयासले दुई देशबीच देखिएको भाषागत खाडल पुरिदै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’

Rt Hon. Krishna Bahadur Mahara, speaker of the Federal Parliament

चीनले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले विकासोन्मुख देशहरुलाई समेट्दै विकासका पूर्वाधारहरु निर्माण गरिरहेको भन्दै सभामुख महराले उक्त परियोजनाबाट नेपालले अन्तरदेशीय कनेक्टिभिटी, पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, शिक्षालगायतका क्षेत्रमा सहकार्य गर्न सक्ने थुप्रै सम्भावना रहेको बताउनुभयो ।

चीनले गरेको चमत्कारिक विकासले विश्वलाई नयाँ सन्देश दिइरहेको भन्दै सभामुख महराले चीनको अभूतपूर्व विकासका पछाडि त्यहाँका विश्वविद्यालयहरु र शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनुभयो ।

चीनले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगतिको गरेको चर्चा गर्नुहुँदै सभामुख महराले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्ने बताउनुभयो । ‘चीनले प्राविधिक शिक्षाको क्षेत्रमा गरेको प्रगति र विकासबाट नेपालले धेरै फाइदा लिन सक्छ’, उहाँले भन्नुभयो, ‘नेपाल र चीनका विश्वविद्यालयहरुले सहकार्य गरी प्राविधिक शिक्षाबाट दीक्षित जनशक्ति उत्पादन गरी दुवै देशको हितमा काम गर्ने वातावरण बनाउन सक्छन् ।’

नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति नेपाली नागरिकहरु नै तयार गर्न सकेमा ठूलो उपलब्धि हुने सभामुख महराको भनाई थियो ।

चिनियाँ नागरिकहरुले नेपालमा आयुर्वेद, हिन्दू तथा बौद्ध दर्शन, योग विज्ञान लगायतका विषय पढ्न इच्छुक रहेको कुरा आफूले सुनेको प्रसंग कोट्याउँदै सभामुख महराले नेपालका विश्वविद्यालयहरुमा विदेशी नागरिकहरुले पनि पढ्न मिल्ने पाठ्यक्रमहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

‘हाम्रो नेपाली पहिचान र सम्पत्तिका रुपमा रहेका विभिन्न दर्शन र शिक्षा विदेशीहरुले पनि सहजै अध्ययन गर्न सक्ने गरी पाठ्यक्रम बनाउन जरुरी छ’ उहाँले भन्नुभयो, ‘आवश्यकताअनुसार परिमार्जन तथा विभिन्न भाषामा पाठ्यक्रम तयार गरेर नेपालकै विश्वविद्यालयमा विदेशीले पढ्न बस्न सक्ने वातावरण बनाएर नेपालमा शैक्षिक पर्यटनलाई पनि बिस्तार गर्न सकिन्छ ।’