काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर रहेको बताउनुभएको छ । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएको र नेपाल व्यापार र लगानीका लागि आफै तत्पर रहेको हुनाले लगानीको राम्रो अवसर रहेको बताउनुभएको हो।
विदेशी लगानीकर्तालाई लगानीको अवसर रहेको बताउँदै उहाँले नेपालमा अहिले स्थिर सरकार, नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ रहेकाे हुनाले लगानीकाे वातावरण रहेकाे धारणा राख्नुभयाे । होटल सोल्टीमा आयोजित उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो – ‘म तपाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रस्तुत गर्दैछु ।’
प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुने समय आएको बताउदै सरकारले गएको एक बर्षलाई नीतिगत र कानुनी सुधारका क्षेत्रमा आधार बर्षको रुपमा लिएको धारणा राख्नुभयो । उहाँले नयाँ कानुनी तथा नीतिगत संरचनाले विदेशी लगानीकर्तालाई नेपालमा लगानी उत्प्रेरित गरेको बताउनुभयो। प्रधानमन्त्रीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताउनुभयाे । उहाँले सुरक्षित महसुस गरी अवसरको फाइदा लिन लगानीकर्तालाई सुझाउनुभयो। लगानी संरक्षित र मुनाफा सुरक्षित रहेको बताउँदै प्रधानमन्त्रीले संसदमा भएका सबै राजनीतिक दलहरु समेत वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत रहेको धारणा राख्नुभयो ।