बुटवल, नेत्रविक्रम चन्द विप्लव नेकपाको पार्टी कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ ।
पाल्पारोडस्थित विप्लवको ‘रातो घर’ मा प्रहरीले डोजर लगाएर भत्काएका हो ।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएका थिए ।
उक्त भवन विगत १३ वर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । उक्त दुईतले रातो घर अहिले प्रहरीले भत्काइरहेको छ । प्रहरीले सो पार्टीलाई राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको आरोप लगाएको छ ।
सुरुमा तत्कालीन नेकपा (माओवादी) को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले अहिले सो भवन भत्काउँदै गरिएको बताउनुभयो । उहाँले शुक्रबार साँझसम्म सम्पूर्ण भवन भत्काइसक्ने पनि जानकारी दिनुभयो ।
सरकारले प्रतिवन्ध लगाएपछि विप्लवकाे पार्टीप्रति प्रहरी कडा रुपमा प्रस्तुत हुँदै आएकाे छ ।