काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी लगानीका लागि नेपाल भर्जिन ल्यान्ड भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै उहाँले राजनीतिक स्थिरताका कारण अब समस्याहरु हट्दै गएको धारणा राख्नुभयो ।

राजनीतिक वातावरण सहज बन्दै गर्दा र लगानीमैत्री ऐन, नियम तथा नियमावली आउँदै गर्दा ढुक्कसँग लगानी गर्न सकिने अवस्था आएको भन्दै मन्त्री ज्ञवालीलेले लगानीका लागि मुलुकमा अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण तयार भएको बताउनुभयो।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायतले विगतको भन्दा सहज वातावरण तयार गरेको दावी गर्दै मन्त्री ज्ञवालीले नेपालमा मेहनती युवा जनशक्ति र सस्तो श्रम शक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने प्रष्ट पार्नुभयो।

लगानीकर्तालाई सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने नीति लिइएको पनि उहाँले जानकारी दिनुभयो । लगानी ल्याउन नीतिगत तथा प्रक्रियागत सहजीकरण गरिएको ज्ञवालीको दावी थियो ।

उहाँले अन्तरदेशीय प्रशारण लाइन निर्माण गरी नेपालमा उत्पादित बिजुली क्षेत्रीय बजारमा लैजान सक्ने वातावरण निर्माण भएको, नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो।

लगानीकर्ताका लागि सहजीकरण गर्दै अनलाइनबाटै कम्पनी दर्ता गर्ने र राजस्व भुक्तानी गर्ने व्यवस्था गरिएको भन्दै उहाँले सबै प्रकारका सेवा सहज रुपमा दिइनेसमेत स्पष्ट पार्नुभयो ।