स्याङ्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनुभएको छ ।

वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको र प्रदेशले विभिन्न आवेदनमुखी कार्यक्रम सञ्चालन गर्न लागेकोमा विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने धारणा राख्नुभयो ।

एक फरक प्रसंगमा बोल्दै मन्त्री अर्यालले सरकारले काम सुरु गर्दा विपक्षीलाई छट्पटी चलेको बताउनुभयो । अहिले केही नेताहरूले सरकारलाई कोस्नेगरी दिइएको अभिव्यक्ति त्यसैको उपज भएको भन्दै मन्त्री अर्यालले संघ, प्रदेश र स्थानीय सरकारबीचमा विभिन्न कुरा गरेर फाटो ल्याउने कोशिस समेत भइरहेको टिप्पणी गर्नुभयो।

‘प्रदेशलाई केन्द्रले अधिकार दिएन भनेर फाटो ल्याउन खोज्ने, स्थानीयले काम गर्न सकेनन् भनेर ह्यारेस गर्ने काम भइरहेको छ,’ मन्त्री अर्यालले भन्नुभयो , ‘सरकारले अहिले काम सुरु गर्दा केहीलाई छट्पटी भइरहेको छ ।’

अर्यालले कांग्रेसप्रति लक्षित गर्दै अब धेरै हारका पीडा नपोखेर रचनात्मक सहयोग गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले विकास र समृद्धिको कुरा गर्दा ठूला कुरा गर्ने भनेर खिसिट्युरी गरिएको भन्दै मन्त्री अर्यालले सरकारले ठूलादेखी साना सबै काम गर्दै जाने स्पष्ट पार्नुभयो।