काठमाडौं‌, नेकपा अध्यक्ष प्रचण्डले अहिले पनि १०/१५ प्रतिशत मुठ्ठीभर मान्छेको हातमा विश्व सम्पदाको ठूलो हिस्सा रहेकाे बताउनुभएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले  १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस काे अवसर पारेर भृकुटीमण्डपमा आयोजित मई दिवस कार्यक्रममा श्रमिकहरुलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि संसारमा धनी र गरीब बीचको खाडल घट्नुको सट्टा बढेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘अहिले पनि विश्व सम्पदाको ठूलो हिस्सा (१०/१५ प्रतिशत ) मुठ्ठीभर मान्छेको हातमा केन्द्रित र ८५ प्रतिशत मानिसहरु अभाव, अन्याय, अपमान  र अत्याचारमा बाँच्नु पर्ने स्थितिको अन्त्य भएको छैन । वर्ग अन्तरविरोध सकिएको छैन ।’

अन्य थुप्रै खालका अपमानताहरु समेत उस्तै रहेको कुरा बताउँदै अध्यक्ष प्रचण्डले नेपालमा २०१७ सालको स्थिति, २०४६ को परिवर्तन पछिको स्थिति र २०६२/६३ को अन्दोलन भन्दा अगाडिको जस्तो अराजक स्थिति फेरि पनि पैदा हुने होकि भन्ने आशंका रहेको बताउनुभयाे ।

साँच्चै मजदूर आन्दोलनको दृष्टिले, श्रमिकवर्गको हक अधिकारको दृष्टिकोणले, उसको राजनीतिक मान्यता घोषणा गर्ने दृष्टिकोणले नेपाल अहिले अग्रणि स्थानमा रहेकाे भन्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा संसारभरी कम्युनिष्ट आन्दोलन र मजदुर आन्दोलन रक्षात्मक स्थितिमा रक्षात्मक स्थितिमा रहेकाे उल्लेख गर्नुभयाे । यी सबैकाे वावजुद नेपालमा सैद्धान्तिक रुपले यो आन्दोलन आक्रामक स्थानमा रहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच युगान्तकारी राजनीतिको घोषणा गरेर त्यसको कार्यान्वयन गर्ने र त्यो मार्फत समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्दै समाजवादको आधार तयार पार्ने भन्दै अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट र मजदुरहरु एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयाे। धाराशायी रहेको कम्युनिष्ट आन्दोलन र विश्व मजदुर आन्दोलनलाई सबै मिलेर उकास्दै विश्व साम्यवादको परिकल्पनामा नेपाल एउटा उदाहरण बन्नुपर्ने उहाँकाे जिकिर थियाे ।

मई दिवसको पूर्वसन्ध्यामा हिजो मजदुर नेताहरुको संलग्नतामा अन्टुफले प्रभातफेरी गरेको थियो ।आज मई दिवसको अवसरमा काठमाडौंको आरएनएसी अगाडि भेला भएर र्याली सहित आम सभाको आयोजना गरिएको थियो ।

साे कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, विशिष्ट अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अतिथिहरुमा श्रम मन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष राजेन्द्र महतो लगायत विभिन्न विदेशी संघ संस्थाहरुका प्रतिनिधिहरु, मजदूर नेताकार्यकर्ता लगायत लाखौंको संख्यामा श्रमिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सबै वक्ताहरुले श्रमिकको हकहितको विषयमा जोडदार आवाज उठाउनुभएकाे थियाे ।