काठमाडौं, सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ। नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली बिहिवार काठमाडौं फर्किएको हो।
उक्त टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो। यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार आज स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ।
मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिकाले स्वागत गरेका हुन्।
त्यस अवसरमा सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुसी बाँड्नुभयाे। पत्रकार सम्मेलनमा वाेल्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधानस्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको बताउनुभयाे ।
गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचितव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर बेसक्याम्पमै पुगेर थप हौसला प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पुरा गरेर फर्किएको जानकारी दिनुभयाे। जेष्ठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरो मापन गरेको उहाँले बताउनुभयाे । ‘त्यहाँ हामीले पुगेर काम पनि गर्नुपर्ने थियो। त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो।’ – उहाँले भन्नुभयाे।
प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल सगरमाथाको उचाई मापन गर्न गएका थिए। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गरेका थिए भने, प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गरेका थिए।
यता पिक पर्मोशन प्रालीका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्याउन मद्दत गरेका थिए। आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका थिए। आरोहरणका क्रममा बेलैमा उद्दार नभएको भए ज्यानै ज्यान गुमाउने सम्भावना रहेकोसमेत त्यस सन्दर्भमा आरोहण टोलीले बताएको थियो। कार्यक्रममा मन्त्री अर्यालले आरोहणको महत्वपुर्ण कामबाट फर्किएपछि अब प्राविधिक काममा अगाडि बढ्ने जानकारी दिनुभयाे।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडी बढाएको हो।
राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाई मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) एवं स्थलगत भू(आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको बताइएको छ।