Nanda Bahadur Pun 'Pasang', Vice-President of Nepal
 

कास्की । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार कृषि, पर्यटन र उर्जा क्षेत्र भएको बताएका छन् ।

बुधबार पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताएका हुन् ।

“नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो”, उनले भने । पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेको जोड दिँदै उनले देशका विभिन्न भागमा समेत होटल व्यवसाय बिस्तार गरिनुपर्ने भनाइ राखे । देशले लामो राजनीतिक अस्थिरताबाट स्थायित्व प्राप्त गरेकाले युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

सोही कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण बनाउन तयार छ भने ।

सन् २०२२ मा प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने उद्देश्यलाई सफल बनाउन सुविधा सम्पन्न होटल विस्तार हुनुपर्ने खाँचो उनले औँल्याए ।