काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले हिजो मेसिनगन नबोकेको भए आज गणतन्त्र नआउने धारणा राखेका छन् ।
राजधानीमा आयोजित पूर्वजनमुक्ति सेना संघ, नेपाल रामेछापले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता शर्माले यस्ताे बताएका हुन् । उनले सात सालदेखि ढाल्न प्रयत्न गरेर पनि नसकेको सामन्तवाद प्रचण्डको नेतृत्वमा आफुहरुले नै ढालेकाले यो गौरवशाली इतिहासलाई कसैले मेट्न नसक्ने प्रष्ट पारे ।
“हामीले मेसिनगन बोकेर गाउँ-गाउँमा आन्दोलन गर्यौँ । जनता उत्साहित भएर शहर पसेका हुन् । साँचो इतिहास यो हो । यहाँ हाम्रो इतिहास तोडमोड गर्ने काम भएको छ ।” उनले भने, “अब सत्य इतिहास बाहिर ल्याउनुपर्छ । जनमुक्ति सेनाले फष्ट एसल्टमा बसेर नलडेको भए यो गणतन्त्र आउने थिएन ।”
वर्तमान राजनीतिले उत्तराधिकारीहरुलाई निष्कृय बनाइरहेकाे भन्दै उनले आफूसमेत नेकपाको निष्कृय स्थायी समिति सदस्य रहेको बताए । उनले उत्तराधिकारीहरुलाई राजनीतिबाट निष्कृय बनाएर समाजवादको कार्यदिशा सफल नहुने पनि प्रष्ट पारे । उनले भने, “अहिलेको राजनीतिको उत्तराधिकारीरलाई निष्कृय पारेर पार्टीले कस्तो समाजवादी कार्यदिशाको कुरा गरिरहेको हो । यो तालमेल मिलेको छैन् ।”
वर्तमान राजनीतिलाई हेर्दा नेताहरु एक्लै-एक्लै दौडिरहेको तर्क गर्दै पूर्वमन्त्री शर्माले तर राजनीति सामूहिक म्याराथुन भएकाले एक्लै दौडन खाज्नेहरु सफल हुन नसक्ने दावी गरे ।
उनले जनमुक्ति सेना विघटन नभएको भन्दै भूमिका मात्र बदलिएको दावी गरे । “हिजो लड्दा एसएलआर हाम्रो मुख्य हतियार थियो तर अहिलेको मुख्य हतियार संविधान हो ।” उनले भने, “संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र भैरहेको छ । संविधानको हतियार बोकेर तपाई जनमुक्ति सेनाका साथिहरुले गाउँगाउँमा मोर्चा खोल्नु पर्छ ।”
त्यसैगरी नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले हिजो लाडाइँमा फष्ट एसल्टमा जान झगडा हुने कुराको स्मरण गर्दै अहिलेको राजनीति सबैभन्दा घृणित काम गर्नेहरुले ढाकेको बताए । उनले भने, “अहिलेको राजनीति जातले डाकेको छ । पानी ढालोले डाकेको छ । सबैभन्दा घृणित काम गर्नेहरुको जमातले ढाकेको छ । बडो कुरुप राजनीतिको फोहोरमा हामी छौं ।” यतिवेला पार्टीको केन्द्रीय सदस्य, स्थायी सदस्यको भन्दा एउटा ठेकेदारको मूल्य बढी भएको उनको तर्क थियो ।
पार्टीमा राजनीतिक आस्थाको जिन्दगी बिताउनेहरुकोभन्दा लेनदेनको जिन्दगी बिताउनेहरुको बोलवाला भएको भन्दै नेताहरु अरबपति र कार्यकर्ताहरु अरबको खाडिपट्टी भएको बताए । कठोर विगतको सामना गरेर आएका नेत कार्यकर्ता भएकाले मात्रै विकृत राजनीतिभित्र कुनै जिम्मेवारी र कार्यविभाजन नहुदा पनि टिक्न सकेको उनकाे दावी थियाे ।
त्यसैगरी अर्का नेकपाका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठले जनमुक्ति सेनाको इतिहास कसैले मार्न सम्भव नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए अहिलेको गणतन्त्र संभवै नभएको ठोकुवा गरे ।
उनले भने, “यदि प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए अहिलेको गणतन्त्र संभवै हुने थिएन ।” हिजकाे जनमुक्ति सेना र लड्ने याद्धाहरु रहेनन् भने अहिले पार्टीले भन्दै आएकाे समाजवादी राजनीतिकाे कुरा व्यर्थ हुने उनले बताए ।
कार्यक्रममा रामेछापका पूर्वसभासदहरु, जिल्ला स्तरीय नेताहरु तथा पूर्वजनमुक्ति सेनाका सदस्यहरुको उपस्थिति रहेको थियो ।