अध्यक्ष प्रचण्डकाे फाेटाे
 

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रूपमै शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस पार्टीप्रति तीव्र आक्रोश पोखेका छन् ।

वाम गठबन्धनले वर्तमान सरकार कामचलाउ मात्रै भएको भन्दै देउवा सरकारले मनपरि सरुवा बढुवाका आथै अनावश्यक निर्णय गर्ने हालको शैली कायमै राखे आसन्न चुनावलगत्तै बन्ने कम्युनिस्ट सरकारले ती निर्णयलाई एकमुष्ठ खारेज गर्ने चेतावनी दिएको छ । बुधबार साँझ राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रूपमा यस्तो चेतावनी दिएका हुन् ।

ओलीको आक्रोश र विप्लवलाई ‘सुझाव’

हालको सरकार केवल चुनावी र कामचलाउ मात्रै भएकाले बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता राष्ट्रलाई दूरगामी प्रभाव पार्ने खालका निर्णय गर्ने अधिकार उसँग नभएको एमाले अध्यक्ष ओलीले बताए । सरकारले आफूखुशी निर्णय गरिरहे चुनावपछि बन्ने सरकारले तिनलाई एकमुष्ठ बदर गरिदिने चेतावनी दिए ।

कम्युनिस्ट शासन आए लोकतन्त्र सिद्धिने कांग्रेसको प्रचारवाजीको खण्डन गर्दै ओलीले कम्युनिस्ट शासन आउँदा लोकतन्त्र होइन, देउवा र कांग्रेसको स्वच्छाचारी शासनको चाहिँ अन्त्य हुने बताए । कांग्रेसको घोषणापत्र आफ्नै बुद्धिले लेखिएको नपाइएको बताउँदै ओलीले केही भाग आफ्नो, केही भाग विदेशीको र केही भाग पुराना इतिहासको जोडजाम पारेर तयार गरिएको आरोप लगाए । कांग्रेसको कुनै भिजन, सिद्धान्त, विचार र योजना नभएकाले भाषण गर्दा समेत आफ्ना केही कुरा नबताएर खालि अरूकै बारेमा मात्र भट्याइरहेको दावी ओलीले गरे ।

वामपन्थी गठबन्धनको घोषणपत्रमा वर्तमानको चित्र र भविष्यतर्फको मार्गदर्शन भएको तर कांग्रेसको घोषणापत्रमा केही नभएको तर्क गरे । चार–चार पकट प्रधानमन्त्री हुँदा समेत के–के गर्नु हुन्छ र के–के गर्नु हुँदैन भन्ने कुराको हेक्का देउवामा नभएको भन्दै ओलीले उनको कटाक्ष गरे ।

आसन्न चुनाव सर्ने वा रोकिने कुरा कसैले सोच्न नसक्ने भन्दै त्यसो गरे उसले अकल्पनीय परिणाम भोग्नुपर्ने चेतावनी ओलीले दिए । ‘कसैले चुनाव रोक्ने र सार्ने सपना देखेको छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ’, कांग्रेस र सरकारलाई चेतावनी दिँदै ओलीले भने– ‘त्यस्तो हुन कदापि दिँदैनौं, यदि त्यसो गरिए मुलकमा धेरै उलटफेर गरिदिन्छौं ।’

देशका विभिन्न भागमा वाम गठबन्धनका उम्मेदारहरूमाथि भइरहेका आक्रमणको निन्दा ओलीले भने– ‘यस्ता आक्रमण वामपन्थीका उम्मेदारमाथि मात्र किन भइरहेका छन् ? कतै यो सरकार र अरुबीचको साठगाँठमा त भइरहेको छैन ? होइन भने सरकार किन विज्ञप्तिसम्म ननिकाली कानमा तेल हालेर बस्छ ?’

विप्लवलाई ‘गडबडी’ होइन, जनताका पक्षमा काम गर्न सुझाव दिँदै ओलीले भने– ‘डाङडुङ होइन, बलिष्ठ पाखुरा र तिघ्रा भएकाले दुर्गम गाउँका जनताको सेवा गरे वाहवाही पाइन्छ । अर्काका निम्ति आतंंक सिर्जना गरेर कहाँ पुग्न खोज्दैछौ विप्लव भाइ ? पटक्कै त्यसो नगर’– ओलीले भने ।

‘हाम्रा उम्मेदवारमाथि आक्रमणमा सरकारकै साथ छ कि ?’  – क. प्रचण्ड

आफूहरू अझैसम्म सरकारमा हुँदाहुँदै पनि कहीं–कतै, कुनै सल्लाह नै नगरी एकलौटी ढंगबाट अनैतिक क्रियाकलापतर्फ उन्मूख भएको आरोप लगाउँदै त्यस्तो क्रम तत्काल रोक्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई चेतावनी दिए । वाम गठबन्धन बनेपछि कांग्रेस अताल्लिएर चुनावविरोधी गतिविधिमा लागेको आरोप प्रचण्डले लगाए ।

विगतमा कम्युनिस्ट सरकार आए ६० वर्ष कटेका बुढाबुढीलार्इ खोजीखोजी मार्छन् भनेर कांग्रेसले प्रचार गरेजस्तै अहिले त्यही धेरै बासी प्रचारवाजी दोहोउँदै कांग्रेसले कम्युनिस्ट सरकार बनेपछि हाँस्न, रून र बोल्न समेत नपाइने प्रचार गरेकोमा प्रचण्डले आपत्ति जनाए । कांग्रेसका यस्ता प्रचारवाजी जनताले कहीं नपत्याएको आफूले देखेको भन्दै त्यसो गरेर आफैं नसिद्धिन कांग्रेसलार्इ सुझाव दिए ।

सरकारका बहालवाला मन्त्रीमाथि बम आक्रमण हुँदा समेत प्रधानमन्त्री देउवा र नेपाली कांग्रेस कानमा तेल हालेर बसिरहेको भन्दै प्रचण्डले आक्रोश पोखे । अहिले विनाविभागीयकै हैसियतमा भए पनि निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम प्रहार हुँदा, रोल्पामा पूर्वअर्थमन्त्री एवं माओवादीका नेता वर्षमान पुन,भोजपुरमा एमाले नेता एवं पूर्वसञ्चारमन्त्री शेरधन राईलगायतमाथि बम प्रहार हुँदा समेत सरकार मौन रहेको भन्दै ती घटनामा सरकारकै संलग्नता रहेको हुन सक्ने आशंका प्रचण्डले व्यक्त गरे ।

‘सरकारका बहालवाला मन्त्रीलाई आक्रमण गर्नेलाई छाड्ने काम भएकाले ‘दाल में कुछ काला है’ त भएको छैन भन्ने गम्भीर प्रश्न खडा भएको छ’, उनले भने– ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिनुको सट्टा प्रोत्साहन त गरिरहेको छैन रु म शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु– यदि यस्ता घटनालाई प्रोत्साहन गरिए त्यो नेपाली कांग्रेसकै लागि दुर्भाग्य हुनेछ ।’

हालसम्मका घटनाले ठूलो असर नपुर्‍याए पनि यस्ता घटना नियन्त्रणबाहिर गए र सरकारले रोक्ने पहल गरेन भने जनताले नियन्त्रण गर्ने दावी प्रचण्डले गरे । अलि बढी आत्तिएर यस्ता घटना घटाउन सरकारमै रहेका मन्त्रीहरुले त भूमिका खेलेका हैनन् भन्ने प्रश्न उनले गरे ।

सरकारले चिनिया कम्पनीलाई बूढीगण्डकी आयोजना निर्माण गर्न दिएको जिम्मेवारी खारेज गरेर सरकारले अनैतिक, संविधान र ऐनविपरीत काम गरेको प्रचण्डले बताए । आफू प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको समेत सहमति लिएरै बूढीगण्डकी परियोजना निर्माण गर्न चिनिया कम्पनीलाई दिने निर्णय गरेको बताँउदै उनले अहिले सरकारले केका लागि र कसका लागि उक्त निर्णय बदर गरेको भन्दै प्रश्न गरे ।

माओवादी अहिले पनि सरकारमै रहेको र सरकारलार्इ दिइएको समर्थन कायमै रहेको बताउँदै उनले सरकारको सहयात्रीसँग छलफल नगरी कांग्रेसले संविधान र ऐनविपरीत अलोकतान्त्रिक काम गरेको उल्लेख गरे । बूढीगण्डकीका बारे बुधबार गोरखाका बतासे र आरुघाट भन्ने ठाँउका जनताले आफूसँग प्रश्न सोधेको समेत उनले बताए ।

निर्वाचनको मुखमा अलोकप्रिय काम नगर्न सरकार र नेपाली कांग्रेसलाई सुझाव दिँदै प्रचण्डले सरकारलाई सरुवा–बढुवा रोक्न, आचारसंहिता उल्लंघन नगर्न र निर्वाचनको वातावरण बनाउन आग्रह गरे । नेपाली कांग्रेसले अराजनीतिक, अलोकतान्त्रिक र अनैतिक काम गरिरहेको भन्दै यसले अरूलार्इ नभर्इ स्वयं कांग्रेसलाई नै क्षति पुर्‍याउने उनले बताए ।