Khagaraj Bhatta खगराज भट्ट
 

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबासँग चुनावी प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिबालय सदस्य खगराज भट्टले यसपाली आफ्नो जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

डडेल्धुरा जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा आज बिहान करिब ९ बजे मतदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै माओवादी नेता भट्टले ‘आफू लामो समयदेखि जनताको हक अधिकारका लागि लडेको र अब समृद्धिका लागि एकजुट भएर लड्नु पर्ने बताए ।’

२०६४ र २०७० सालका संविधान सभाका निर्वाचनहरुमा शेरबहादुर देउबासँग माओवादी केन्द्रको तर्फबाट प्रतिस्पर्धामा उत्रिएर झिनो मतले पराजित भएका भट्टले ‘अघिल्ला चुनावमा माओवादी एक्लैले देउबालाई कडा चुनौती दिएको र झिनो मतले आफू पराजित भएको तर अहिले बाम गठबन्धनसँगै जनलहर आफ्नो पक्षमा रहेको’ बताए । उनले भने, ‘यस पटक जीत सुनिश्चित छ । मतदान प्रक्रिया र विजयको घोषणा हुन बाँकी छ ।’

दश वर्षे महान जनयुद्धमा सुदुरपश्चिम क्षेत्रको एक महत्त्वपूर्ण माओवादी नेताको रुपमा रहेका भट्टका दाजु जनयुद्धका सहिद हुन् । भट्ट सुदुरपश्चिमका जनप्रिय नेता मानिन्छन् ।