काठमाडौं । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसालले नयाँ सरकार गठन हुनु अगाडि नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच पार्टी एकता हुने बताएकी छन् ।
बिहीबार काठमाडौंमा रिर्पोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी नेतृ भुसालले भनिन्, ‘सरकार गठनअघि नै पार्टी एकता भइसक्छ, एकता संयोजन समितिले अहिले द्रुत गतिमा कामहरु गरिरहेको छ ।’ प्रवक्ता भुसालले वैचारिक रुपमा खासै विवाद नभएको र सांगठानिक व्यवस्थापनमा पनि आवश्यक परे कार्यदल बनाएर अघि बढ्न सकिने जानकारी दिइन् ।
साक्षात्कारमा बोल्दै नेतृ भुसालले पार्टी एकतामा कुनै समस्या नभएकोले दुई अध्यक्षहरु बसेर सबै कुरा टुंगो लगाउने धारणा राखिन् । उनले भनिन्, ‘शीर्ष नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डजीको कार्यविभाजन उचित ढंगले हुन्छ, पार्टी एकता भएपछि प्रधानमन्त्री पनि आफ्नो हुन्छ, अध्यक्ष पनि आफ्नो हुन्छ, यत्ति हो उहाँहरुको सम्मानजनक ढंगले कार्यविभाजन हुन्छ ।’
तल्लो तहमा कार्यकर्ताहरुबीच एकता भइसकेकोले अब केन्द्रमा पनि एकता चाँडै हुनेमा कुनै द्विविधा नभएको भुसालको भनाइ छ । ‘अब माथिल्लो लेभलमा दुई जना अध्यक्षबीच कुरा मिल्न बाँकी छ, छिट्टै मिल्छ, तल्लो लेभलमा त निर्वाचनमै सबै एक भएको कुरा स्पष्ट छ’ भुसालले भनिन् ।
देउवा सरकारले बुधबार अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको निर्णयप्रति टिप्पणी गर्दै उनले उक्त निर्णयमा आफूहरुको कुनै सहमति नभएको जिकिर गरिन् । उनले भनिन्,’सरकारले हिजो गरेको निर्णय राजनीतिक सहमतिबाट गरेको होइन, तर यो निर्णयले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गरेको छ ।’
उनले प्रदेशको अस्थायी राजधानी अहिले तोकिएपनि प्रदेशहरुले आफू अनुकुल नयाँ स्थायी राजधानी तोक्ने पनि स्पष्ट पारिन् । त्यस्तै उनले प्रदेश प्रमुखबारे पनि नयाँ सरकारले नयाँ धारणा बनाउन सक्ने बताईन् ।
अध्यक्ष प्रचण्ड र सुमार्गी बिच कुनै विशेष सम्बन्ध छैन ।
माअाेवादी नेतृ भुसालले सोही कार्यक्रममा व्यवसायी अजेयराज सुमार्गी र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच कुनै विशेष सम्बन्ध नभएको स्पष्ट गरिन् । उनले भनिन्,‘ हामीले जानेको के हो भने सुमार्गी व्यवसायी हो, त्यो भन्दा बेसी यो देशका नागरिकसँग राजनीतिक पार्टीहरुको अथवा हाम्रो पार्टीको जे सम्बन्ध हुन्छ, त्यति छ, त्यो भन्दा बढी सुमार्गीसँग विशेष सम्बन्ध छैन ।’
सुमार्गीको धन अवैध हो भने राज्यले छानबिन गर्नुपर्ने बताउँदै उनले भनिन्,‘अवैध धन हो भने राज्य छ नि त, छानबिन गरेर त्यसको निर्क्यौल गर्नुपर्छ, अहिले त हाम्रो पार्टी सरकारमा छैन, सम्पत्ति शुद्धीकरण अरु लिगल के–के छ ? त्यो पाटो त राज्य छ नि त । राज्यका संरचनाहरु छन्, उनीहरुले सत्यतथ्य बाहिर ल्याए हुन्छ, अहिले मिडियाले मात्रै ल्याएको छ, अब राज्यले बाहिर ल्याओस्, यतिमात्रै हो।’