काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।
साेमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्डसहित तीन नेतालाई सो अधिकार दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयाे ।
बामगठबन्धनका दुई मुख्य दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच राष्ट्रिय सभा सदस्यका लागि ४३ सिट मध्ये २९ सिट एमालेलाई र १४ सिट माओवादी केन्द्रले लिने गरी सहमति भएको छ । माओवादीले १४ सिटमा उम्मेदवार छनोट गर्ने जिम्मा शीष तीन नेतालाई दिएको हो ।
‘बैठकले प्रदेश इञ्चार्जलाई एक सिटका लागि तीन जनाका नाम छनोट गरी सिफारिस गर्न दिइएको निर्देशन अनुसार केन्द्रमा सम्भावित उम्मेदवारको नाम प्राप्त भएको’ जानकारी दिँदै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ‘मंगलबार उम्मेदवारको टुंगो लाग्ने’ बताउनुभयो ।
‘एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने’, भुसालको भनाइ छ ।
पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, शहीद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यको कुल ५६ सिट मध्ये बाकी रहेका १३ सिटमा एमाले र माओवादीले अन्य दलसँग तालमेल गर्ने भन्दै अझै सिट बाँडफाँड भएको छैन । त्यसका लागि मधेसी दल र अन्य साना दलसँग दुई दलको औपचारिक अनौपचारिक छलफल जारी रहेको बताइएको छ ।