काठमाडाैँ, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्ने बताउनु भयो ।
जनगायक स्व. खुशीराम पाख्रिनको स्मृतिमा जनसांस्कृतिक महासंघ नेपालद्वारा आइतबार काठमाडाैँमा आयोजित सांस्कृतिक कार्यक्रममा बाेल्दै उहाँले “जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने” भन्दै “भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिस्टले देखेको जस्तो विकास सम्भव नभएको” बताउनु भयो ।
कार्यक्रममा वक्ताहरूले मन्तव्यको क्रममा राखेका प्रश्नहरू र टिप्पणीहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो, “सांस्कृतिक आन्दोलनका अगुवा र कलाकारका भावनालाई स्थायी कमिटीमा एजेण्डा बनाएर प्रस्तुत गर्छु, यसलाई मलाई पनि एउटा दिशाबोध गरेको छ ।”
अध्यक्ष प्रचण्डले नेताहरु सच्चिनुपर्ने आवश्यकता औल्याउँदै नेताहरुलाई रुपान्तरणका लागि घच्घचाउन संस्कृतिकर्मीसँग आग्रह गर्नुभयो । कार्यक्रममा प्रचण्डले भन्नुभयो, “अघि हाम्रो पार्टीका स्थायी समिति सदस्य मणि थापाले धेरै कुरा भन्नुभो, पछिल रामेशजी र रायनजीसम्म आइपुग्दा धेरै कुरा प्रष्ट भएको छ । तपाईहरुले नेताहरुलाई चिमोट्नुभएको छ, नेताहरुलाई घच्घचाउनुभएको छ । जनताका लागि, श्रमजीवी वर्गका लागि र राष्ट्रका लागि नेताहरुलाई यसरी नै दुख्नेगरी चिमोट्नुस्, नेताहरु बदलिन्छन् ।”
अध्यक्ष प्रचण्डले सांस्कृतिक रुपान्तरणको क्षेत्रमा नेकपाले धेरै गर्न नसकेको स्वीकार गर्दै “सांस्कृतिक आन्दोलन सामान्य आन्दोलन होइन, यसले जनमत निर्माणमा विशेष भूमिका खेल्दछ । हामी पार्टी एकताको अन्तिम चरणमा पुगेका छौं, त्यसपछि सांस्कृतिक अभियान चलाउँछौं, यसले नेता, कार्यकर्ता र जनतालाई पनि प्रशिक्षित र जागरुक गर्छ”, भन्नुभयो ।
उहाँले कला, साहित्य र संस्कृतिले नै समाज र मानव चेतना बदल्न गुणात्मक भूमिका खेल्ने बताउँदै थप्नुभयो, “हिजो चाहे त्यो पञ्चायतविरुद्धको सङ्घर्ष होस्, चाहे जनयुद्ध होस्, जनतालाई जागरुक गर्न संस्कृतिकर्मीको ठूलो योगदान छ । कला, साहित्य र संस्कृति जनताको दिमागमा घुसेपछि त्यसलाई दुनियाँको कुनै तागतले हल्लाउन सक्दैन ।”
कार्यक्रमको शुरूवातदेखिनै भावुक रूपमा प्रस्तुत हुनुभएका अध्यक्ष प्रचण्डले खुल्ला राजनीतिमा सांस्कृतिक मूल्य मान्यतामा ह्रास आएको उल्लेख गर्दै “हामीले जनताको बीचमा सङ्कल्प गरेका छौं । जनताले हामीलाई विश्वास गरेका छन् । हामीले हाम्रो मूल्य मान्यता भुल्नु हुँदैन । तपाईंहरुको खबरदारीका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु,” भन्नुभयो ।
अध्यक्ष प्रचण्डले सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम चलाउने कुरा जस्तै सांस्कृतिक आन्दोलनका निम्ति पनि अभियान चलाउने योजना ल्याइने प्रतिबद्धता जनाउँदै जनमतको निर्माण साहित्य, कला र गीत संगीतले गर्ने बताउँदै अध्यक्ष प्रचण्डले खुशीराम पाख्रिन कम्युनिस्ट उद्देश्यका निम्ति समर्पित योद्धा भएको स्मरण गर्नुभयो । उहाँका सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्नेमा उहाँको जोड थियो ।
त्यस्तै उहाँले स्थायी कमिटीको बैठकले जिल्ला र जनसंगठनको एकताको टुंगो लाग्ने जानकारी पनि दिनुभयो । मंसिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले प्रदेश कमिटीको टुंगो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसंगठनको एकता गर्ने लक्ष्य बनाएको बताउनु भयो ।
कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा, वरिष्ठ संस्कृतिकर्मी जेबी टुहुरे, रामेश, रायनलगायतको सहभागिता थियो । कार्यक्रममा कलाकारहरूले जनगायक स्व. पाख्रिनका शब्द, सङ्गीत रहेका विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकाे अध्यक्षता खगेन्द्र राई र सञ्चालन सरल सहयात्रीले गर्नुभएकाे थियो ।
अध्यक्ष प्रचण्डको सम्बोधनकाे भिडियो ।
https://www.facebook.com/prachanda.nepal/videos/687145101679954/