काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले इतिहासमै अहिलेको नेतृत्व अग्नि परिक्षामा भएको बताउनुभएको छ ।
माध्यामिक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्वलाई समस्या समाधान गर्दै देशलाई समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि खडा भएको बताउनुभयो।
“यति बेला पनि हाम्रा सामु थाँती रहेका समस्या समाधान भएनन् भने कहिले हुन्छन् ?” भन्ने प्रश्न गर्दै अध्यक्षले भन्नुभयो, “यो समस्याको समाधान हामीले पनि गरेनौं भने कसले गर्छ, यसको कल्पना पनि गर्न सकिन्न ।”
उहाँले आफूहरुलाई शिक्षामा देखिएका सबै प्रकारका समस्याहरुको समाधान गर्ने अवसर प्राप्त रहेको बताउनुहुँदै सो अवसर नेपालले धेरै लामो संघर्ष र बलिदान पछि प्राप्त गरेको धारणा राख्नुभयो।
शिक्षकका समस्याहरुको समाधान गर्न छिट्टै प्रधानमन्त्री र शिक्षा मन्त्रीसँग छलफल गर्ने बताउँदै उहाँले विकसित भनिने राष्ट्रहरुले पनि शिक्षालाई नै उच्च प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।
फरक प्रसंगमा वोल्दै उहाँले संसदबाट हालै पारित चिकित्सा शिक्षाको व्यवस्था गर्न बनेको ऐन अहिलेसम्मकै प्रगतिशील भएको टिप्पणी गर्नुभयो । यद्यपि यसबारे थप बहस चलिराखेको उहाँको भनाई थियो।’