काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहित लोकतन्त्रलाई सुदृढ पार्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।
६९ औं प्रजातन्त्र दिवसका अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभयो ।
अबको यात्रा सुशासन र विकासतर्फ भएकाले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेकाले परिस्थिति बदलिएको हुनाले नै कामका प्राथमिकता पनि फेरिएको धारणा राख्नुभयो ।
यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – “स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महीनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ । लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ ।’’
सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – “हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ ।”
प्रजातन्त्रको लागि भएको लामो सङ्घर्षका क्रममा जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफूलाई बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठ का लागि यहाँ क्लिक गर्नुहोस् ।













