Ram Bahadur Thapa Badal
 

गोरखा । गृहमन्त्री रामबहादुर थापा वादलले शहीदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउनुभएको छ ।

मंगलवार गोरखाको पालुङ्टारस्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधनको क्रममा मन्त्री थापाले शहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को हुन् भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको बताउनु भएको हो।

कार्यक्रममा बोल्दै गृहमन्त्रीले समृद्ध र सुखी नेपालको स्थापना नै समाजवाद भएको बताउनुभयो । भ्रष्टाचारी, दलाली, ठग, तस्कर, घुसखाने प्रशासक, प्रहरी, वैदेशिक रोजगारमा ठगी गर्ने दलालहरु, सिण्डिकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पुर्‍याउनेहरु, महिला दिदीबहिनीहरुलाई बेचबिखन गर्नेहरु, काम नगर्ने ठेकेदारहरु, बलात्कार गर्नेहरु, जग्गा दलाल, जनताका काममा ढिलासुस्ती गर्नेहरु समाजवादका बाधक रहेकाले यिनीहरुलाई ठेगान लगाएर समाजवाद ल्याउने उहाँको जिकीर थियो ।

जनवादी क्रान्ति पूरा भएको बताउँदै उहाँले अबको क्रान्ति समाजवादी क्रान्ति भएको उल्लेख गर्नुभयो । समाजवादी क्रान्तिका मुख्य दुश्मनहरु पहिचानको क्रममा रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो – ‘समाजवाद भनेको समृद्धि र विकास हो। जनतालाई समृद्ध र सुखी बनाउने हो। समाजवाद भनेको सबै शिक्षित, सुखी र रोजगार प्राप्त हुने अवस्था हो। हिजोका राजतन्त्र, जमिन्दारहरुलाई पन्छाउनका लागि गणतन्त्र स्थापना गरे जसरी नै समाजवाद स्थापनामा बाधा पार्नेहरुविरुद्ध सबै एक भएर लाग्नुपर्छ।’

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश संयोजक हितराज पाण्डेले शहिद सुरेश वाग्ले र भीमसेन पोखरेलले देखाएको बाटोमा अविचलित भई निरन्तर काम गरिरहने बताउनुभयो। प्रतिनिधि सभाका सभासद हरिराज अधिकारीले शहिद स्मृति प्रतिष्ठानले युद्ध संग्रहालय निर्माणको योजना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहिद सुरेश वाग्लेका छोरा विकास वाग्ले, नेकपाका नेता जुद्ध विलास भण्डारी, प्रदेश सभासद हरिशरण आचार्य लगायतले स्मृति मन्तव्य राख्नुभएको थियो। सुरेश वाग्ले र भीमसेन पोखरेलको जनयुद्धकै क्रममा २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले हत्या गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथीको आसनवाट वोल्दै गृहमन्त्री थापाले घुस लिने र दिने, भ्रष्टाचारी, जनताका काम नगर्ने प्रशासकहरु, प्रहरीहरु, व्यापार व्यवसायमा सिण्डिकेट कायम राख्न चाहनेहरु, ठेकेदार, ठग, तस्कर, जल, जंगल र जमिनको मिच्याई गर्नेहरु नै समाजवादका विरोधी भएको भन्दै सबैको एक एक हिसाव राखेको र अब उनीहरुलाई तह लगाउने बताउनुभयो ।

नेकपा नेतृत्वमा सरकार बनेको ६ महिना हुँदासम्म केही प्रगति भएन भनेर बाहिर बजारमा हल्ला गर्नेहरु धेरै भएको भन्दै उहाँले पराजित मानसिकतालाई १०० ले गुणा गरेर जीत खोज्नेहरु यही समाजमा रहेको टिप्पणी गर्नुभयो । प्रतिगामी शक्ति राजनीतिक अस्थिरता कायम गरी सरकारलाई कमजोर पार्न उद्धत भएको भन्दै उहाँले सरकारले संघीयता लागू गर्ने लगायतका धेरै काम गरेको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो – ‘धेरै कामहरु भएका छन् । ठोस योजनाहरु निर्माण भएका छन्। दुश्मनको भ्रममा हामीहरु पर्नुहुुँदैन। सरकारको कामहरुमा चिन्ता र चासो राख्नु सल्लाह दिनु आम नागरिकहरुको कर्तव्य हो। सरकार समृद्ध राष्ट्र निर्माणका लागि काम गरिरहेको छ।’

वाग्ले माओवादी युद्धकालमा सबैभन्दा उच्च तहबाट बलिदान गर्ने शहीद हुनुहुन्छ । शहादतको समयमा उहाँ तत्कालिन नेकपा माओवादीको पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो । भीमसेन पोखरेल जनमुक्ति सेनाका एक योद्धा तथा वाग्लेका अंगरक्षक हुनुहुन्थ्यो ।