Rabindra Adhikari रविन्द्र अधिकारी
 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हेलिकप्टर दुर्घटनाप्रति शोक व्यक्त गरेको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त शोक वक्तव्यमार्फत दुःख प्रकट गर्नुभएको हो। वक्तव्यमा देशले एउटा योग्य र प्रतिभाशाली नेता गुमाएको बताइएको छ।

विज्ञप्तिमा मुलुकले विकास र जनताप्रति सँधै समर्पित जनप्रतिनिधि गुमाउनुका साथै ‘प्रचुर सम्भावना बोकेका भरोसायोग्य नेता देश र पार्टीले गुमाएको’ उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – ‘अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटीका एकजना होनाहार सदस्य, विकाशप्रेमी, जनप्रतिनिधि र प्रचुर संभावना बोकेको भरोसायोग्य नेता गुमाएको छ ।’

युवा नेताका साथै देशले ख्यातिप्राप्त व्यवसायी, चालक र राष्ट्रसेवक कर्मचारी गुमाएको भन्दै नेकपाले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफन्त र शुभेच्छुकहरुमा धैर्यधारणका लागि अपील गरिएको छ ।