Netra Bikram Chanda Biplab
 

कपिलवस्तु, कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ ।

बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको हो । प्रहरीको गोली लागेर शिवराज नगरपालिका – ९ बस्ने  नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका छन् । उनको घरमा हतियार रहेको सूचनाका आधारमा खानतलासी गर्न प्रहरी पुगेपछि उनी भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताएको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् ।

उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

बन्दले जनजीवन प्रभावित

आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह)ले आयोजना गरेको राप्ती बन्दका कारण राप्तीको दैनिक चहलपहल ठप्प भएको छ ।

प्रहरी प्रशासनले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै उनीहरुको तत्काल रिहाइका लागि नेकपाको राप्ती ब्यूरोले आयोजना गरेको बन्दका कारण राप्तीको जनजीवन प्रभावित भएको हो ।

ब्यूरो इन्चार्ज केशबहादुर बाँठा (सुवास)द्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला आज बन्द रहने जनाइएको छ । नेकपाले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरमा शहीद परिवार सम्मान कार्यक्रम गरिरहेको स्थलबाट गिरफ्तार गरिएको भन्दै उनीहरुलाई विनाशर्त रिहा गर्न माग गरेको छ ।

यसैगरी रोल्पा जिल्लाबाट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेन, महिला संगठनकी केन्द्रिय अध्यक्ष बन्धु चन्द, युवा नेता सुर्य भुजेल, किसान संगठनका केन्द्रिय अध्यक्ष राजु कार्की, अखिल (क्रान्तिकारी)का पूर्व नेता एवं पार्टीका ब्युरो सदस्य केदार खतिवडा लगायतलाई गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।