नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ ।
१०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा र रोजगारमा समावेशी र समानुपातिक प्रणालीका अतिरिक्त विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी रहेको बिज्ञप्तिमा उल्लेख छ ।
नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र नभई विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताउँदै अध्यक्ष प्रचण्डले महान् जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको उल्लेख गर्नुभएको छ ।
नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको उहाँको भनाइ छ ।
संसदमा महिलाहरुको ३३ प्रतिशत अनिवार्य सहभागिताका कुरा संविधानमै उल्लेख गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा नेपाल अग्रस्थानमा उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्व पश्चात मूलुकको आर्थिक समृद्धिमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
बिज्ञप्तिको पुर्ण पाठ
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना
१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली श्रमजीवि दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महान् जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको हो ।
नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको भयो । वर्तमान संविधानमा महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा हाम्रो देश पर्न सफल भएको छ । देशमा राजनीतिक स्थायित्व पश्चात मूलुकको आर्थिक समृद्धिमा महिलाहरुको भूमिका महत्वपूर्ण छ ।
महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक मुख्य हो । आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध बन्दैन । महिलाहरुलाई शिक्षा र रोजगारमा समावेशी र समानुपातिक प्रणालीका अतिरिक्त विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ ।
श्रमिक महिला दिवसको अवसरमा समस्त नेपाली महिला दिदीबहिनीहरुको लैंगिक समानता, महिला सशक्तिकरण र महिलाहरुको हक अधिकार प्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
२४ फागुन, २०७५ पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष