पोखरा, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।
प्रेस सङ्गठन नेपाल कास्कीले सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो ।
पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उहाँको भनाई थियो ।
सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै अध्यक्ष प्रचण्डले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको धारणा राख्नुभयो ।
राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सम्झौता भएको बताउँदै उहाँले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो । जनअभिमत, जनमत सङ्ग्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने उहाँको कथन थियो ।
सरकारले सबैलाई समेटेर अघि बढ्ने बताउँदै उहाँले विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो । नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उहाँले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको भन्दै त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने जिकीर गर्नुभयो ।
पार्टीको एकीकरणपछिका बाँकी काम अन्तिम चरणमा पुगेको र आफूहरू टुङ्ग्याउने क्रममा रहेको बताउँदै उहाँले सरकार आफ्नो गतिमा अघि बढिरहेको बताउनुभयो। थुप्रै कानून बनाउनुपर्ने आवश्यकताका कारण यसले सरकारका काममा केही अलमल भए पनि विकास निर्माणलगायतका काममा सरकार अघि बढिरहेको उहाँको कथन थियो।
सामाजिक सुरक्षा र बेरोजगारी अन्त्यलगायतका क्षेत्रमा उल्लेख्य काम भइरहेको दावी गर्दै अध्यक्ष प्रचण्डले जनताले नेकपाप्रति आशा एवं विश्वास गरेको उल्लेख गर्नुभयो । उहाँले रौतहटमा भएको कार्यक्रममा देखिएको जनताको उपस्थितिले उक्त कुरा पुष्टि गरेको बताउनुभयो ।