काठमाडौं . नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिने बताउनुभएको छ ।
आइतबारबाट शुरु भएको खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवकाे शिक्षा कृषिलाई सम्मान गर्नुका साथै व्यावहारिक र समसामयिक ज्ञान दिने खालको बनाउनुपर्ने बताउनुभयो।
अध्यक्ष प्रचण्डले किसानहरूलाई बोलीले मात्र सम्मान नहुने भन्दै व्यावहारमा सम्मान गर्न सबैलाई सुझाउ दिनभयो। उहाँले हालसम्म कृषि क्षेत्रका अनुसन्धान औपचारिक रुपमा मात्र भईरहेको भन्दै यसमा लाग्ने व्यक्तिहरू जीवन धान्न मात्रै लागेको टिप्पणी गर्नुभयो । कृषकको जीवनसँग जोडिने र जीवन परिवर्तन गर्ने कृषि अनुसन्धान हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले यसका लागि सरकार र पार्टीको नेतृत्व दत्तचित्त भएर लाग्ने धारणा राख्नुभयो ।
सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध, विकास निर्माणका कामलाई अगाडि बढाउने, लगानीका सम्बन्धमा थुप्रै काम गरे पनि यतिले मात्र प्रशस्त नभएको टिप्पणी अध्यक्षको थियो । सरकारले आफूलाई जनताको सुुझाव अनुसार थप परिमार्जन गर्दै लैजानुपर्ने भन्दै अध्यक्षले जनताको काममा गति लिइरहेको भनी सरकारको बचाउ गर्नुभयो ।
पहिलो वर्ष कानुन निर्माणमा बितेको र संघीयतालाई संस्थागत गर्ने एवं संविधान कार्यान्वयनमा बितेको भन्दै अबका दिनमा जनताको जीवनमा परिवर्तन ल्याउन काम गरिने उहाँको कथन थियो। जनताले हामीले उपलब्धि पायौँ भनेर सन्तुष्ट भएको स्थिति अहिले पनि नभएको भन्दै अध्यक्षले कानुन कति बने कति बनेनन् भन्ने जनताका लागि चासोको विषय नभएकोमा भने गुनासो गर्नुभयो।
कम्युनिस्ट पार्टीको नेतृत्वमा धेरै उपलब्धि आउनेछन् भन्ने जनताको विश्वास थियो। ‘पहिलो वर्ष कानुन निर्माण र कानुनलाई संविधान अनुरुप बनाउन बित्यो,’ उहाँले भन्नुभयाे, – ‘कानुन कति बने, कति बेननन् भन्ने जनताका लागि चासोको विषय हुने रहेनछ।’
अहिलेको अवस्था धेरै ठूलो त्याग, तपस्या र संघर्षबाट प्राप्त भएको भन्दै प्रचण्डले यो नेतृत्वबाट जनताको धेरै अपेक्षा हुनु स्वभाविक रहेको पनि बताउनुभयो।
उहाँले भन्नुभयाे – ‘यो परिवर्तनपछि जनताले हामीले उपलब्धि पायौँ भनेर सन्तुष्ट भएको स्थिति अहिले पनि नरहेको भन्दै अगाडि भन्नुभयाे – ‘संविधानमा के कति कुरा भनिएको छ भन्ने कुरा जनताको र किसानको त्यति धेरै चासोको विषय हुदैन। उनीहरूको जीवनमा के कति परिवर्तन आयो भन्ने कुरा उनीहरूका लागि महत्वपूर्ण हुन्छ। त्यसरी हेर्दा तात्विक रूपमा धेरै परिवर्तन आएको महसुस भएको छैन।’ पार्टी र सरकार जनताका महत्वका विषय सम्बोधन गर्न नलागेको भन्ने अर्थ नरहेको भन्दै प्रचण्डले काम गर्दै जाँदा केही कमी भएको भने स्वीकार गर्नुभयो।
अध्यक्ष प्रचण्डले गत संघीय र प्रदेशसभाको चुनावताका घोषणापत्रमा गरेका कुरा पूरा गरेनौँ कि क्याहो भन्ने प्रश्न उठेका बताउनुभयो। उहाँले घोषणापत्रमा भनिएका र व्यवहारका कुरा फरक भएकाले जनताले सन्तुष्ट हुने अवस्था नभएको उल्लेख गर्नभयो ।
‘शिक्षामा २० प्रतिशत बजेट छुट्याउने भन्यौँ तर पहिलेको भन्दा घटायौँ। कृषिमा बजेट बढाउने भन्यौ तर पहिलेको भन्दा घटायौँ’ – प्रचण्डले अगाडि भन्नुभयो – ‘मानिसहरूले बुझ्ने व्यवहार र परिणामबाट हो। अनुसन्धानको बजेट पनि घटायौँ। वृद्धवृद्धालाई भत्ता बढाउँछौ भन्यौ तर दिएनौँ, यसले त थप पीडा दियो नि ।’
अध्यक्ष प्रचण्डले जनताका पक्षमा राम्रा काम गर्नका लागि दुई कम्युनिस्ट पार्टीको एकता गरेको भन्दै अबका दिनमा पार्टी एकतामा देखिएका केही अन्यौलता हटाएर जाने बताउनभयो। उहाँले सरकारका काममा प्रभावकारिता ल्याउने बताउनुभयो।
सरकारले अगाडि सारेको सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम सकरात्मक रहेको, विकास निर्माण पूर्वाधारका निम्ति काम भएको भए पनि पर्याप्त भने नभएको उहाँको धारणा थियो। उहाँले आउने दिनमा विकास निर्माणमा केन्द्रित भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नयाँ बजेट निर्माणको चरणमा रहेको भन्दै अध्यक्ष प्रचण्डले घोषणापत्रमा भनेका कुरा र जनगुनासा सम्बोधन गर्नका लागि योजना ल्याउने बताउनुभयो। किसान सम्मेलनमा उठेका निष्कर्ष र सुझावलाई कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले गर्नुभयो ।