Chairman Prachanda, Pushpa kamal Dahal
 

विराटनगर, नेकपा अध्यक्ष प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा सीके राउतसँग ११ बुँदे सहमति गरिएको बताउनुभएको छ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टीको ध्यान पृथकतावादी आन्दोलनमा लागेकाहरुलाई मुलधारको राजनीति एवं संविधानको मातहतमा ल्याउने तर्फ केन्द्रित भएको र त्यही प्रक्रिया अन्तर्गत रहेर स्वतन्त्र मधेस आन्दोलनका अगुवा राउतसँग सहमति गरिएको बताउनुभयो ।

सरकारले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधिनताका विषयमा कसैसँग सहमति नगर्ने बताउँदै अध्यक्ष प्रचण्डले राउतलाई आफ्ना कार्यकर्ता सम्झाउन समय लागेको हुनसक्ने टिप्पणी गर्नुभयो । यस विषयमा हतार गर्न जरुरी नभएको उहाँको जिकीर थियो ।

सरकारवारे बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएको छ । आज बिहान पनि प्रधानमन्त्री र मेरो यस विषयमा कुरा भएको थियो । आवश्यक परे छलफल गरेर सामान्य हेरफेर गर्न सकिन्छ ।’

याे कुरा प्रधानमन्त्रीकाे अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई भनेको पनि सञ्चारकर्मीलाई बताउनुभयो ।

एक अर्को प्रसंगमा बोल्दै अध्यक्षले संघले प्रदेशलाई अधिकार दिएन भन्ने आरोपको खण्डन गर्नुभयो । उहाँले भन्नुभयो – ‘संविधानको मर्म र भावना अनुसार काम गर्ने हो । संघले अधिकार दिने र खोस्ने कुरा नै होइन । संविधान अनुसार नै कामहरु हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

पार्टीभित्र उठेका केही असन्तुष्ट आवाजहरुलाई स्थायी कमिटी बैठकमा छलफल गरेर सम्बोधन गरिने उहाँकाे भनाइ थियाे ।