काठमाडौं, नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार भएको बताउनुभएको छ ।

बुधबार रिपोर्टर्स् क्लवमा बोल्दै उहाँले भन्नुभयो – ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तर पनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ ।

कुनै पनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्न नहुने उहाँको धारणा थियो । नेता पौडेलले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनका निम्ति संविधानप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको टिप्पणी गर्नुभयो ।

‘यतिबेला सरकारले अधिकतम भन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्ने थियो, त्यसले मात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सकिन्थ्यो तर हतारमा प्रतिवन्ध लाउने काम भयो ।’ उहाँले भन्नुभयाे ।

विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, – ‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाइयो भने त्यसले स्वयं उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन।’

परिस्थिति ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राख्दै पौडेलले अगाडि भन्नुभयाे – ‘यदि ठिक ढंगले परिस्थिति बुझ्न सकिएन भने यसले आफैमाथि बज्रपात गर्न सक्छ। त्यसकारण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनका निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।’

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा जानुुपर्ने उहाँको भनाई छ । त्यसका लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्ने र त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने मात्र राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सुहाउने उहाँको जिकीर थियो ।

उहाँले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नघटेको पनि टिप्प्णी गर्नुभयो । ‘केही प्रकारका छिटपुट घटनाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’ अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएकोमा उहााको जोड थियो ।

आफूहरु अहिले पनि हिजोका घाउहरु सुल्झाउने प्रयासमा लागिरहेको भन्दै उहाँले कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका बताउनुभयो । त्यस्तै उहाँले वर्तमान सरकारले जनताको चाहनाअनुसार प्रभावकारी काम गर्न नसकेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयाे –  ‘सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यक छ । हामी यो विषयमा गम्भिर छौं । जनताको गुनासो आउनु स्वभाविक हो ।’

फरक प्रसंगमा उहाँले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने स्पष्ट पार्नभयो । पौडेलले भन्नुभयाे – ‘यदि सहमतिविपरित गतिविधिहरु भए भने सहमतिबारे पूर्नविचार गर्न बाध्य हुनुपर्छ । यदि सहमितअनुरुप नै अघि बढियो भने यो एक प्रकारले राजनीतिसँग अन्तरनिहित छ । त्यसकारणले त्यो सही छ ।’

गतिविधि अब कसरी अघि बढ्छन, हेर्न बाँकी रहेको भन्दै उहाँले ‘अबका दिनले त्यो देखाउने बताउनुभयो । वार्ता, सहमति र सम्वादमार्फत र संविधानअनुसार सहमितमा ल्याउनु आफैमा सही कुरा भएको भन्दै सरकारको तर्फबाट गरिएको उक्त सहमतिलाई हतार भएपनि एउटा सकारात्मक संकेतको रुपमा लिनुपर्ने उहाँको भनाई थियो ।

सरकार र राउतबीचको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने यी दुवै प्रकरणमा सरकारले यति धेरै महत्व दिनुपर्ने स्थिति आफूले नदेखेको पनि पौडेलको जिकीर थियो । उहाँले भन्नुभयाे – ‘यतिबेला आफना कामहरु, विकास निर्माणका कामहरु, संविधान कार्यान्वयन गर्नुपर्ने कामहरु र शान्ति प्रक्रियासँग सम्बन्धित रहेका बाँकी कामहरु दृढतापूर्वक गर्नसक्ने बलियो हैसियतमा सरकार छ, सरकारले त्यसैमा जोड गर्नुपर्छ।’