काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताउनुुभएको छ।
योंग कम्युनिष्ट लिग नेपालले पेरिसडाँडा स्थित कार्यालयमा बिहिवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा जे जति परिवर्तन भएको छ त्यसको पछाडि महान् सहिद र बेपत्ता योद्धाको त्याग र तपस्या मुख्य कारण भएको बताउनुभएको हो ।
सहिद र वेपत्ता परिवारलाई अभिनन्दन गर्दै प्रचण्डले भन्नुभयाे – ‘एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि हो ।’
विप्लव समूहतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताउनुभयो । उहाँले हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छ, अनि परिस्थिति हेर्नु पर्दैन भन्दै विप्लवलाइ प्रश्न गर्नुभयो ।
‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो, सजिलो छैन प्रचण्ड बन्न पनि,’ उहाँले भन्नुभयो – ‘कसैले चाहेर पनि भइहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिँडेको पनि थिइनँ, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाई प्रचण्ड बनाइदिए । अब त्यही समयमै प्रचण्ड बनिँदैन ।’













