काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिवार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी र आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई स्वाभाविक मान्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्रीले आतंकवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरुका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र श्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।