काठमाडौं, इथियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कारका लागि उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित डढेको माटो दिने भएको छ ।

समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो।

शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न छ महिनासम्म लाग्ने उनीहरूका परिवारलाई भनिएको छ ।

मार्च १० मा दुर्घटनामा परेपछि बोइङ कम्पनीले निर्माण गरेको ७३७ म्याक्स ८ र ९ मोडलका विमानहरूलाई संसारभरि सबै वायुसेवाले उडानबाट हटाएका छन्।

दुर्घटनामा परेर संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममा कार्यरत नेपालकी एकता अधिकारीको पनि मृत्यु भएको थियो।