बेयरा, मोजाम्बिक : मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक समुद्री आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाबेको छिमेकीमा रहेका नगरहरूमा सयौँको सङ्ख्यामा व्यक्तिको मृत्यु हुनुका साथै अन्य २०० व्यक्ति बेपत्ता भएका राष्ट्रपति फिलिपे नुसीले जानकारी दिएका छन् ।

आधिकारिक रूपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक हजार बढी भएको मोजाम्बियाली राष्ट्रपति नुसीले राष्ट्रका नाममा गरेको सम्बोधनमा जनाइएको छ ।

प्रति घण्टा १७७ किलोमिटरको वेगमा आएको आँधी र त्यसपछि बन्दरगाह शहर बेयरामा आएको बाढीका कारण कैयौँ किलोमिटर सडक र घरहरू नै बगाएको छ । गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको थियो तर उद्धारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।

इडाई नामक यस आँधीका कारण अफ्रिकाको दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन् ।

राष्ट्रपतिले गरेको हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताएका छन् । करिव पाँच लाख मानिस बसोबास गर्ने बेयरामा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ ।