काठमाडौं, नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ ।
अमेरिकी दूतावास स्रोतका अनुसार अध्यक्ष प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो । जुन भारतीय नेताहरु सोनिया गान्धी र नरेन्द्र मोदी लगायत अमेरिका भ्रमणमा जाने अन्तर्राष्ट्रिय नेताहरुलाई मात्र जारी हुने गरेको छ ।
अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ। यस्तो सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कार्वाही अगाडि बढाउन मिल्दैन।

अध्यक्ष प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदूत रेण्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनै पनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताउनु भएकाे थियाे । लगत्तै दूतावासको सुरक्षा निकायले यस्तो खालको सकुर्लर जारी गरेको थियो।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका क्रममा यतिबेला अमेरिका पुग्नुभएकाे छ। भेनेजुएला प्रकरणपछि प्रचण्ड र अमेरिकाबीच सम्बन्ध चिसिएको प्रचार गरिएको थियो। तर, अमेरिकी सरकारको पछिल्लो सर्कुलरले प्रचण्डविरुद्ध फैलिएका सबै हल्ला मिथ्या सावित भएका छन्।

अमेरिका बसाइका क्रममा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, सामाजिक विकास लगायतका विषयमा राजनीतिक भेटघाटसमेत गर्नसक्ने बताइएको छ।













