वासिङ्टन डिसि, परिवारको उपचारका क्रममा अमेरिका रहनुभएका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुभएको छ ।

गत साता नेपालका लागि पूर्वअमेरिकी राजदूत डेलिसीसँग भेटघाटपछि उहाँले सोमवार दक्षिण तथा मध्य एसिया हेर्ने एलिस जी वेल्ससँग भेट गर्नुभएको छ। सचिवालयले जनाए अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपाल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताउनुभएको थियो।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई एतिहासिक रुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै नेपालको विकासमा अमेरिकी सहयोगको अपेक्षा गर्नुभएको थियो ।

भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायी शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताउनुभयो ।

द्वन्द्व व्यवस्थापनमा नेपालले अनुकरणीय प्रयास र उपलब्धि हासिल गरेको बताउँदै एलिसले आगामी दिनमा अमेरिकाले नेपालको विकासका लागि आवश्यक सहयोग गर्ने धारणा राख्नुभयो ।

अध्यक्ष प्रचण्ड पत्नि सीता दाहालको उपचारका लागि अमेरिकामा रहनुभएको छ। दाहालको स्वास्थ्यमा सुधार आएकाले केही दिनमा प्रचण्ड स्वेदश फर्कने उहाँको सचिवालयले बताएको छ।