काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको उपचार पुरा गरी बिहिवार नेपाल फर्किँदै हुनुहुन्छ ।
अमेरिकाको जोन हकिन्स अस्पतालबाट डिस्चार्जपछि पत्नी एवं पूर्व माओवादी केन्द्रकी सल्लाहकार दाहाललाई लिएर उहाँ बिहिवार नेपाल फर्किने अध्यक्ष प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिनुभएको छ ।
अमेरिकाको बाल्टिमोरस्थित साे अस्पतालबाट डिस्चार्ज भएसँगै अध्यक्ष दम्पति स्वदेश फर्किन लाग्नुभएको हो । सीता दाहालको वासिङटनमा रहेको मेडिस्टार हस्पिटल र बरमिंघम स्थित अर्को एक हस्पिटलमा स्वास्थ्य जाँच गरिएको थियो । उहाँ पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगको उपचारकालागि अमेरिका पुग्नुभएको हो ।
उपचारपछि दाहालको स्वास्थ्यमा निक्कै सुधार भएको अस्पतालले जनाएको छ । ‘डाक्टरहरुका अनुसार आमाको स्वास्थ्यमा सुधार आउने बिश्वास छ।’ – उपचारका लागी साथमा अमेरिका पुग्नुभएकी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव तथा छोरी गंगा दाहालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । अध्यक्ष दम्पति सँगै छोरी गंगा दाहाल, ज्वाँई जीवन दाहाल र एकजना स्वास्थ्य स्वयंसेविका अमेरिका जानुभएको थियो ।
इत्तेहाद एयरको विमानबाट उहाँहरु स्वदेश फर्किने बताइएको छ । अध्यक्ष प्रचण्ड सहितको टोली बुधबार साँझसम्म युएईको अबुधाबी आउने र त्यहाँबाट भोली बिहीबार बेलुकी ४ बजे नेपाल पुग्ने प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो ।
श्रीमतीको उपचारमा अमेरिका पुग्नुभएका अध्यक्ष प्रचण्डले त्यहाँ रहँदा बिभिन्न राजनैतिक भेटघाट गर्नुभएको थियो । १० दिनको अमेरिका बसाइ पछि उहाँहरु बिहिवार नेपाल फर्किन लाग्नुभएको हो । अध्यक्ष फर्केलगत्तै पार्टी एकताको वाँकी काम अगाडि बढ्ने नेकपाले बताएको छ ।