काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड हुरी वतास प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किनु भएकाे छ ।
आँधी हुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड प्रभावित क्षेत्रको अवलोकन गरी अवस्था बुझ्न मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जानुभएकाे हाे । उहाँले विरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका विरामीहरुलाई भेटघाट पनि गर्नुभएकाे छ ।
उपचार प्रकृया राम्राे चलिरहेकाे भन्दै अध्यक्षले उपचारमा संलग्न चिकित्सकहरुकाे प्रशंसा गर्नुभएकाे छ । सरकारले राहत प्रकृया प्रभावकारी रुपमा अगाडि बढाउने पनि उहाँले बताउनुभएकाे छ ।
यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावा हुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएकाे थियाे । ओलीले अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएकाे थियाे ।
विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् । वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि छ ।
गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ । कैयन घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ । हावा हुरीले घर भत्काउँदा प्रभावितहरुको जनजीवन कष्टकर छ ।