काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताउनुभएकाे छ । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उहाँले बताउनुभयाे ।
शुक्रबार काठमाडौंमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले गोर्खाहरुको न्यायपूर्ण आन्दोलनमा नेपाल सरकार र राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यो नेपालको स्वाभिमानको लडाँई हो, नेपालको सार्वभौमसत्तासँग जोडिएको लडाँई हो ।’
नेता श्रेष्ठले गोर्खाहरुमाथिको विभेद अन्त्यका लागि नेपाल सरकारले नै पहल गर्नुपर्ने भएपनि यसअघि त्यसो नभएको बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यो नेपाल सरकारले नै उठाउनुपर्ने बिषय थियो तर यसअघि यो उठाइएन । गेसो जस्तो संगठनले उठाउँदै आयो । यसका लागि हामी सबैले धन्यवाद दिनपर्छ ।’ तर, अब वर्तमान सरकार र नेकपाले गम्भिरताको साथ उठाउने उहाँको भनाई छ ।
नेता श्रेष्ठले अब गोर्खा भर्ती लगायतका बिषयमा त्रिपक्षीय सम्झौताका आधारमा होइन बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने बताउनुभयाे । भर्ती लगायका बिषयमा राष्ट्रिय सहमति जुटाएर नयाँ सम्झौता र निर्णय गरिनुपर्ने उहाँको भनाई छ ।
त्रिपक्षीय सम्झौतालाई बेलायती अदालतले नै अबैधानिक भनेर खारेज गरेको घोषणा गरीसकेको अवस्थामा त्यसको आधारमा गरिनु नहुने उहाँको तर्क छ । गोर्खा भर्ती जारी राख्ने या नराख्ने ? यो बिषयमा समेत दुई देशबीच सम्झौता हुनुपर्ने उहाँको भनाई छ ।
नेता श्रेष्ठले गोर्खाहरुमाथिको जारी विभेद बेलायत सरकार, नेपाल सरकार (लण्डनस्थित नेपाली दूतावास) र गोर्खाहरुको प्रतिनिधि सहभागी त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको आधारमा नै हुनुपर्ने बताउनुभयाे । यसका लागि नेपाल सरकार पनि गम्भिर भएर कुटनीतिक पहल गर्नुपर्ने नेता श्रेष्ठकाे भनाइ छ । गोर्खाहरुको बिषयमा आफूले पार्टी र सरकारमा कुरा उठाउने पनि उहाँले बताउनुभयाे ।