काठमाडौं, सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशनमा सामाजिक सन्देशमूलक चलचित्र ‘लावाजुनी’ प्रदर्शनको तयारीमा छ । कमलरीका दु:ख बोकेको चलचित्र ‘लावाजुनी’ले युनिभर्सल प्रमाणपत्र पाएको छ ।
कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको हो । जाँच समितिले चलचित्र लावाजुनी सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्ने जनाएको छ ।
‘लावाजुनी’ सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको सामाजिक सन्देशमूलक चलचित्र हो । चलचित्रमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका गर्नुका साथै उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगले उठाइएको छ ।
चलचित्रमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभियनय रहेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको चलचित्रमा कोमल वली, कुलानन्द गिरी, सतिश राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले चलचचित्रमा स्वर दिएका छन् ।
करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्देशक पीडितले जानकारी दिए । उनले च्यारिटी शोका लागि देशभित्र र बाहिर विशेष प्रदर्शन गर्ने तयारी भएको जानकारी पनि दिएका छन ।