काठमाडौं, किशाेर र युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।
प्राधिकरणका प्रवक्त्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य रोक्नका लागि पत्र पठाइएको बताउनुभयाे । दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो।
यसको पूरा नाम ‘प्लेयर अननोस ब्याटलग्राउण्ड’ हो । पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवा र किशाेरलाई यसको लत लागेको र धेरै समय यसमै खेर फालेकाे भन्दै आलोचना हुने गरेको छ ।
८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लेटफर्ममा उपलब्ध रहेको छ। आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ।
पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन्। त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन्।