काठमाडौं, नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहीद मित्रमणि आचार्य दिवस मनाएका छन् । नेपालका सबै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणि दिवसको रुपमा मनाउँदै आएका छन् ।
वि.सं. ०४२ साल वैशाख १८ गते चितवनमा मित्रमणि आचार्यको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका केन्द्रीय सदस्य र चितवनस्थित रामपुर कृषि क्याम्पसका स्ववियु सभापति समेत रहनुभएका आचार्य लोकप्रिय विद्यार्थी नेता हुनुहुन्थ्याे ।
आइतबार राजधानीमा आयोजित स्मृति सभामा नेकपाका ३ नं. प्रदेश अध्यक्ष नारायण दाहालले मित्रमणिलगायतका सबै सहीदका सपना पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुने बताउनुभयाे ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्ल, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु उपाध्यक्ष शैलेश लामालगायतले आचार्यको जीवनका विविध पाटा पक्षको चर्चा गर्नुभएकाे थियाे ।