भियतनाम, प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिवार संसद् भवनमा भेटघाट भएको छ ।
उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो ।
नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिवारे छलफल
नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन द्विपक्षीय सम्झौता गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिवार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।
सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गर्नुभएकाे छ ।
त्यसैगरी व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गर्नुभएकाे छ ।
हो ची मिन्ह हाउसको अवलोकन
प्रधानमन्त्री ओलीले शनिवार नै हो ची मिन्ह हाउसको अवलोकन गर्नुभएको छ । सन् १९५८ देखि १९६९ सम्म भियतनामका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री हो चि मिन्ह उक्त हाउसमा बस्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेता होको शयन, अध्ययन र वैठक कक्ष अबलोकन गर्नुभयो । प्रधानमन्त्री ओलीले अतिथि पुस्तिकामा ‘कमरेड हो ची मिन्ह अमर रहुन्’ भनी उहाँको स्मरण गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज
भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभएको छ । प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा रहनुभएको छ ।
सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित हुनुहुन्थ्यो । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता थियो ।