काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गर्नुभएकाे छ । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे।
उपराष्ट्रपति पुन बिहान ९:२० बजे कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गर्नुभएकाे हाे । भ्रमण टोलीमा उहाँकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत हुनुहुन्छ।
उपराष्ट्रपति १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागी हुनुहुने सचिवालयले जनाएकाे छ । जेठ १४ गते उहाँले आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेकाे पनि सचिवालयले जनाएकाे छ ।
उपराष्ट्रपति पुन अष्ट्रियाका संघीय राष्ट्रपतिले दिने दिवाभोजमा सहभागी हुनुहुने बताइएकाे छ । त्यसैगरी उहाँ आर-२० सम्मेलनको समूहगत छलफलमा पनि सहभागी हुनुहुने बताइएकाे छ । अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुन जेठ १५ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा पनि सहभागी हुने बताइएकाे छ । उहाँ जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।