सुनसरी । कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताएकी छन् । च्याउ उत्पादक सङ्घ केन्द्रीय समितिले आयोजना गरेकाे एक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् ।
कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता अनुसार पर्याप्त नभएको मन्त्री चौधरीकाे भनाइ थियाे । बजेटले चक्लाबन्दी खेती प्रणालीमा लैजान मद्दत पुर्याउने र यसका लागि तराईमा १०० बिघा भन्दा बढी चक्लाबन्दीमा खेती गर्ने किसानहरुलाई विशेष सुविधाको व्यवस्था समेत रहेको राज्य मन्त्री चौधरीले बताइन् ।
‘चक्लाबन्दी खेतीले श्रमको सही सदुपयोग, औजारीकरण, आधुनिकीकरण, व्यवसायीकारणका साथै उत्पादनमा वृद्धि समेत हुनेछ र यसले देश लाई आत्मनिर्भर बनाउने छ ।’ – राज्य मन्त्री चौधरीले भनिन् । बजेटमा खेतीयोग्य जमीनमा सञ्चालमा रहेका जोन, सुपरजोन, चक्लाबन्दी, सामुहीक खेती समूह, सहकारी र प्राली बाट भइरहेको स्थानहरुमा नहर सिँचाइ, उर्जा सिँचाइ, स्यालो टुयबेल र डिप बोर्डिङ पुर्याउने लक्ष्य समेत लिएको मन्त्री चौधरीले बताइन । करार खेती ऐन छिटै ल्याउने र यसले खेती योग्य जमीन बाँझोपनबाट मुक्त गराई उत्पादन बढाउने साथै उत्पादन बस्तुको बजार समेत ग्यारेन्टी हुने मन्त्री चौधरीकाे भनाइ छ ।
च्याउ खेतीले घरेलु महीला र बेरोजगार युवा युवतीहरुका लागि रोजगार सृजाना भएको र धेरै युवा युवतीहरु आफनै घर आगनमा यो खेती गर्दै आएको राज्य मन्त्री चौधरीकाे भनाइ थियाे । यो अर्गानिक उत्पादन भएकोले बजारको माग असाध्य धेरै भएको तर उत्पादन पुर्याउन नसकेको उनले बताइन् । कार्यक्रममा च्याउ उत्पादन संघका केन्द्रीय अध्यक्ष प्रेम नारायण अधिकारीको अध्यक्षता थियाे । कार्यक्रममा १ नं प्रदेशका च्याउ किसानहरु उपस्थिति थियो ।