काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूमा वैचारिक विचलन आएको, सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महशुस भएको बताउँदै पार्टी एकतामा केही ढिला भए पनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ।
ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले कम्युनिस्टहरूमा राजा महाराजाको प्रवृति देखिँदै जान थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भने “कम्युनिस्ट नेता नै राजा-महाराजा जस्तो हुँदै गएपछि राजा महाराजाका विरुद्ध लडेका जनतामा निराशा छाउन थालेकाे छ । हिजो भन्दा आज कम्युनिस्टको अनुशासनको स्तर गिर्दै त छैन”, उहाँले भन्नुभयो, ‘कम्युनिस्टहरूमा वैचारिक विचलन आएको छ । सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महशुस भएको छ ।’ यसलाई परिवर्तन गर्नुपर्छ’ अध्यक्ष प्रचण्डको भनाइ छ ।
एउटा प्रवृति मार्क्सवाद, लेनिनवाद, या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रूपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरसः पालना गर्ने भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने बताउनु भयो । उहाँले कम्युनिस्टहरू सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई बिर्सँदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै बुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफूलाई चिन्ता लागेको बताउनु भयो ।









