Yam Bahadur Adhikari, promoted to Brigadier General of Nepal Army
 

काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को जनमुक्ति सेना अर्थात पिपुल्स लिबरेसन आर्मीबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ सहायक रथी अर्थात ब्रिगेडियर जनरलमा बढुवा हुनु भएको छ ।

उहाँलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अधिकारीले आफूलाई सहायक रथीमा बढुवाका लागि रक्षा मन्त्रालय र जंगी अड्डामा नियामित प्रक्रिया अनुसार निवेदन दिनु भएको थियो ।

विशेष परिस्थितिका कारण सरकारले उहाँलाई बढुवा गरेको हो ।  सेनाभित्रको ‘चेनअफ कमाण्ड’को नाममा सो परिस्थितिलाई असहज बनाउने प्रयत्न भए पनि अन्ततः ४ वर्षको विशेष पद सिर्जना गरेर उहाँको बढुवा भएको छ । ‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (४ वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ’, बाँस्कोटाले भन्नुभयो ।

विद्रोही शक्तिको रूपमा रहेको नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनका क्रममा उहाँ उपसेनानी बन्नुभएको थियो । त्यसको केही समयमै उहाँ महासेनानी (कर्णेल) बन्न सफल हुनुभएको थियो ।