काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता क. अग्निप्रसाद सापकोटा ‘कञ्चन’ ले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताउनु भएको छ ।
संघीय संसदको प्रतिनिधि सभाका पूर्वसभामुख समेत रहनुभएका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को वर्गीय संगठन समन्वय समिति (क्लस्टर) को बैठकलाई सम्बोधन गर्दै सो विचार राख्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) ले किसान, मजदुर र सुकुम्बासीहरूको हक, हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको विचार प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “किसान, मजदुर र सुकुम्बासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र अखिल नेपाल सुकुम्बासी संघ हाम्रो पार्टीका आधारभूत वर्गका सबैभन्दा महत्त्वपूर्ण संगठन हुन् ।”
उपाध्यक्ष सापकोटाले नेकपा (माओवादी केन्द्र)को भर्खरै सम्पन्न स्थायी समितिको बैठकबारे समन्वय समितिको बैठकलाई जानकारी दिँदै स्थायी समितिको बैठकले पार्टीमा एक अभूतपूर्व एकता कायम भएको, पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको र पार्टी अब सुदृढ एकतासहित अघि बढ्ने संकल्प गरिएको बताउनु भयो ।
उपाध्यक्ष सापकोटाले अब पार्टीले २०५७ सालमा जसरी एउटा अग्रगामी छलाङ लिएको थियो, त्यसरी नै एउटा नयाँ छलाङ हान्दै समाजवादी क्रान्तिको दिशातर्फ अघि बढ्ने बेला आएको विचार राख्नु भयो ।
नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको ऐतिहासिक छैठौँ पूर्ण बैठकपश्चात गठन भएको वर्गीय संगठन समन्वय समिति (क्लस्टर) अन्तर्गत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र अखिल नेपाल सुकुम्बासी संघ रहेका छन् । पार्टीको केन्द्रीय निकायको रूपमा रहेको वर्गीय संगठन समन्यव समितिको इन्चार्जमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष क. अग्निप्रसाद सापकोटा ‘कञ्चन’ रहनुभएको छ भने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का फ्य्राक्सन इन्चार्ज क. सुनिलकुमार मानन्धर, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का फ्य्राक्सन इन्चार्ज क. रामदीप आचार्य र अखिल नेपाल सुकुम्बासी संघका फ्य्राक्सन इन्चार्ज क. नहेन्द्र खड्का सदस्य रहनुभएको छ । बैठकमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष क. चित्रबहादुर श्रेष्ठ र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. अमर परियार पनि सहभागी हुनुभएको थियो ।
आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी संघर्षको उठान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यसको तयारी गर्न, नवप्रवर्तन, आधुनिकीकरण र तथ्य-तथ्यांकमा आधारित रहेर संगठनलाई सुदृढीकरण गर्न तीनवटै संगठनका नेताहरूलाई निर्देशन दिनुभयो ।
बैठकमा तीनवटै संगठनका इन्चार्ज र अध्यक्षहरूले आ-आफ्ना संगठनहरूको संगठनात्मक स्थिति, राजनीतिक-वैचारिक पक्ष, संगठनसँग सम्बन्धित वर्ग र समुदायका समस्याहरू र तिनको समाधानका उपायहरूका साथै संयुक्त मोर्चा र संघर्षको तयारी लगायतका विषयहरूबारे रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा समन्वय समितिका इन्चार्ज सापकोटाले संगठन निर्माण तथा परिवालनका साथै जनताको हक, हित र अधिकारको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभयो । बैठकले किसान, मजदुर र सुकुम्बासी संगठनको परिचालन र सुदृढीकरणबारे महत्त्वपूर्ण निर्णयहरू गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताउनुभयो ।