काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राससको भूमिका सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ । रासस स्थापनाको ५८औँ वर्ष प्रवेशको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले इतिहासको एक फरक राजनीतिक कालखण्डमा स्थापना भएको राससको भूमिका आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

देश आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर भएको र सङ्घीयताको अभ्यास अगाडि बढिरहेको आजको सन्दर्भमा सत्य, तथ्य र आधिकारिक सूचनाको स्रोतका रुपमा रासस जस्तो समाचार संस्था अपरिहार्य बन्न पुगेको भन्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका लागि नयाँ सोच र सिर्जनशील प्रयत्नलाई प्रोत्साहन गर्न सूचनाको हकको भूमिका निकै अंह हुने उल्लेख गर्नुभयो । उहाँले त्यसको ज्वलन्त उदाहरण राससले प्रस्तुत गर्नसक्ने बताउनुभयो ।

प्रविधिको यस युगमा राससले अत्याधुनिक प्रविधिको प्रयोग गरी सूचना प्रवाहको गति र परिणामसमेत बढाउन कामना गर्दै उहाँले विविध क्षेत्र तथा विषयलाई समेटेर समाचार सामग्री उत्पादन गर्नका लागि राससलाई थप शुभकामना  दिनुभएको छ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राससले मङ्गलबार आफ्नो स्थापनाको ५८ औँ वार्षिकोत्सव मनाउँदैछ ।