Chairman Prachanda, Pushpa kamal Dahal
 

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई सहिदको सपना पूरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ ।

बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयो । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरूलाई आव्हान पनि गर्नुभयो। अध्यक्षले नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको बताउनुभयो ।’

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाले सामन्तवाद र वैदेशिक हस्तक्षेपको विरोध गर्ने मदन भण्डारीलाई सम्झन्छु, सम्मान गर्छु । उहाँको सम्मानमा जेठ ३ गते पार्टी एकताको घोषणा गर्यौं । आज फागुन १ गते जनयुद्ध र विद्रोह शुरू भएको दिन हो, यो दिनलाई शहीदहरूको स्मृति र सम्झनाका रूपमा मनाउने सामुहिक निर्णय भएको छ । यो ऐतिहासिक हो ।’

पार्टी एकतापछि मनाइएको जनयुद्ध दिवसले बैचारिक राजनीतिक एकतालाई सुदृढ गर्न र सांगठनिक एकताका लागी महत्वपूर्ण हुने भन्दै उहाँले भन्नुभयो, ‘यहाँसम्म आइपुग्दा हामी संवैधानिक व्यवस्थाभित्र शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख राज्यतर्फ अघि बढ्ने प्रतिवद्धमा अघि बढेका छौ।’ उहाँले अहिलेपनि एकतामा नआएका कम्युनिष्ट पार्टीहरुलाई पनि एकतावद्ध भएर अघि बढ्न आह्वान गर्दे जनयुद्धमा सहभागी भएका सवै समूह र पार्टीहरुलाई सवै खालका ‘कन्फ्युजन’ छाडेर एकताबद्ध हुन अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको परिवर्तनलाई सफल पार्ने जिम्मेवारी सबैको हो, हामी सबै एकै स्थानमा गोलबन्द हुन सक्यौ भने छिटै हामी सफल हुनेछौ । ’

उहाँले भन्नुभयो, “अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।” उहाँले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्षले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राख्नुभयो ।

मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उहाँले भन्नुभयो, “यही बाटोमात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।”

अध्यक्षले शान्तिपूर्ण संसदीय प्रक्रियाको माध्यमबाट कम्युनिष्टलाई लोकप्रिय बनाउने र जनयुद्धको रुपमा कम्युनिष्ट आन्दोलनलाई बलियो पार्दै उत्पीडित जनता हक अधिकारको लडाइँका अगाडि बढाउने काम दुई धार एक भएर अहिले कम्युनिष्ट आन्दोलन बनेको बताउनुभयो ।

उहाँले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षडयन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताउनुभयो । उहाँले प्रतिक्रियावादीको उस्काहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनुपर्ने बताउनुभयो ।

“प्रतिक्रियावादीले यो कम्युनिष्ट पार्टी राम्रौसँग अगाडि नबढोस् र यो विभाजित होस् कम्युनिष्टको प्रभाव घटोस् यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्”, उहाँले भन्नुभयो, “जताततै कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले आएकाले ध्वस्त पार्न सम्भव देखेका छैनन् ।” उहाँले आफूहरु १९औँ शताब्दी र २० औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभव पनि समीक्षा र लेखाजोखा गरेर अबको २१ औँ शताब्दीको लागि समाजवाद निर्माण एउटा नयाँ ढाँचाको खोजीमा रहेको बताउनुभयो ।

प्रज्ञामा विविध कार्यक्रम, माइतीघर मण्डलामा दीप प्रज्वलन

यसै सन्दर्भमा २४ औं जनयुद्ध दिवसको अबसर पारेर जनसाँस्कृतिक महासंघ नेपालको आयोजनामा राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठान डबलीमा विविध कार्यक्रम सम्पन्न भएको छ । कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा कविहरुले कविता प्रस्तुत गरेका थिए । नेकपाका अध्यक्ष प्रचण्ड, नेताहरु क. जनार्दन शर्मा, क. मणि थापा, क. झक्कुप्रसाद सुवेदी, क. पूर्णकुमारी सुवेदी, जनवादी गायकहरु क. रायन, क. जेवी टुहुरे लगायतको उपस्थिति रहेको कार्यक्रममा नेकपाका नेता क. जनार्दन शर्मा, वाईसिएलका अध्यक्ष क. दीपशिखा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी दुई विद्यार्थी संगठनको संयुक्त आयोजनामा माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । बुधवार साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी अखिल र अखिल (क्रान्तिकारी)ले संयुक्त रुपमा जनयुद्धका शहीदहरुको सम्झना गरेका हुन् ।